तिगरम पुलमा आवतजावत सुचारु

0
2463

दार्चुला, भदौ ७ गते ।
पहिरोको जोखिमका कारण भदौ ३ देखि बन्द गरिएको तिगरम पुलमा विहिवार विहानदेखि आवतजावत सुचारु गरिएको छ । महाकाली नदीमाथि नेपाल र भारत जोड्ने तिगरम झोलुंगेपुलमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आवतजावत गर्न रोक लगाएको थियो ।
झोलुंगेपुलको नेपालतर्फ पुलमाथिबाट पहिरो खसेपछि जोखिम बढेको थियो । पहिरोबाट ढुंगा खस्ने खतरा भएकाले आइतवारदेखि पुल बन्द गरिएको थियो । स्थानीय प्रशासनले बुधवार सतर्कतापूर्वक आवतजावत सञ्चालन गराउने निस्कर्ष निकालेको हो ।
यसअघि सोमबार मात्रै प्राविधिक टोलीमार्फत स्थलगत अध्ययन गराइएको थियो । प्राविधिक अध्ययनले रातीको समय र पानी नपरेको बेला पुलबाट आवतजावत गर्न सकिने प्रतिवेदन दिएको थियो ।
सुरक्षा निगरानीसहित पुल सञ्चालनमा ल्याइएको दार्चुला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले बुधवार नै भारतको धारचुलास्थित एसडिएम कार्यालयलाई पुल सञ्चालन गर्न पत्राचार गरेको थियो ।
विहिवार विहानैदेखि तिगरम पुल खोलिएको दार्चुला प्रहरीले जनाएको छ । पुल सुचारु गराउन व्यास गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मंगलसिह धामीले नेपाल र भारतका अधिकारीहरुसंग समन्वय गरी पत्राचार गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here