व्यास जोड्ने घोरेटो बाटो मर्मत पूरा नहुँदै क्षतिग्रस्त

0
2408

दार्चुला, भदौ १० गते ।
व्यास गाँउपालिकाको वडा नम्बर १ व्यासक्षेत्र जोड्ने घोरटोबाटोको मर्मत कार्य पूरा नहुँदै भारी वर्षा र पहिरोले क्षतिग्रस्त बनेको छ । पञ्चायतमा निर्माण भएको दार्चुला तिंकर घोरेटो बाटोलाई पहिलो प्राथमिकतामा राखेर व्यास गाँउपालिकाले गत आर्थिक वर्षमा बाटो मर्मत गर्न सुरु गरेको हो ।
राप्लाको दुम्लिङदेखि दोपाखेसम्मको घोरेटो बाटो मर्मतका लागि गाँउपालिकाले गत आर्थिक वर्षमा ठेक्का प्रक्रियामार्फत काम गराएको हो । तर आर्थिक वर्षको अन्तिममा मात्र बाटो मर्मतको कार्य सुरु गरिएपछि लक्ष्यअनुसारको काम हुन सकेको छैन ।
दुईटा निर्माण कम्पनीलाई बाटो मर्मतको जिम्मेवारी दिइएको छ । असारमा निर्धारित कामको आधा परिमाणमा मात्रै प्रगति भएको व्यास गाँउपालिकाका इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो ।
जेठ र असारमा निर्माण र मर्मत गरिएको बाटो वर्षातको पानी र पहिरोले क्षतिग्रस्त बनेको छ । ठेकेदारमार्फत मर्मत हुँदैगरेको बाटो ठाँउठाँउमा क्षतिग्रस्त भएको व्यास गाँउपालिकाका प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले बताउनुभयो । केही हप्ताअघि भारतीय बाटो हुँदै व्यासबाट दार्चुला सदरमुकाम पुगेका ऐतवालले धेरै ठाँउमा नेपालको बाटो क्षतिग्रस्त भएको जानकारी दिएका छन् ।
राप्लाको तम्बाकु, दोपाखे, घाटिबगड नजिकको घोरेटो बाटो क्षतिग्रस्त भएको छ । अहिले त्यसक्षेत्रमा हिडडुल गर्न नसकिने अवस्था रहेको व्यास गाँउपालिका इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो । थिईभीरको फेदमा पनि घोरेटोबाटो क्षतिग्रस्त बनेको छ ।
वर्षा हुने क्रम जारी रहेकाले बाटो निर्माण तथा मर्मतको जिम्मेवारी पाएका ठेकेदारलाई परिचालन गर्न नसकिएको गाँउपालिकाका नायव सुब्बा रामदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार असारको अन्तिममा बाटो निर्माण तथा मर्मतमा संलग्न ठेकेदारले म्याद थपका लागि गाँउपालिकामा निवेदन दिएका छन् । गाँउ कार्यपालिकाले म्याद थपको निर्णय भने गरिसकेको छैन ।
असारसम्म निर्माण गरिएको बाटोको मूल्यांकन गरी ठेकेदारलाई भुक्तानी गरिएको इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो । व्यास गाँउपालिकाका अनुसार व्यास निर्माण सेवालाई ४ लाख ९९ हजार र नाम्पा निर्माण सेवालाई ४ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरिएको छ । दुबै निर्माण कम्पनीलाई भुक्तानी गरिएको रकम ठेक्का सम्झौताको आधा हो ।
गाँउपालिकाले पहिलो प्राथमिकता राखेको बाटो मर्मतको कार्यलाई प्रभावकारी बनाउन गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी आफै असारको दोस्रो हप्ता स्थलगत भ्रमणमा पुगेका थिए । गाँउपालिकाका प्राविधिकसहितको अनुगमनले बाटो मर्मतको कार्यमा ढिलाइ भएको निस्कर्ष निकालेको थियो । गाँउपालिका अध्यक्षसहितको अनुगमन टोलीले मध्यअसारमा घाटिबगडसम्मको बाटो अनुगमन गरेको थियो ।
यसपालीको वर्षात सकिएपछि ठेकेदार कम्पनीहरुलाई बाटो मर्मत तथा निर्माण कार्यमा परिचालन गर्ने गाँउपालिकाको भनाई छ । मर्मत हुँदैगरेको बाटो ठाँउठाँउमा भत्किएपछि अहिले नेपालको भूमि भएर व्यासक्षेत्रको आवतजावत सकिने अवस्था छैन । यस वर्षको हिउद सुरु हुनुपूर्व असोजभित्रै व्यासक्षेत्र जोड्ने घोरेटो बाटो मर्मत गरी सञ्चालनमा ल्याइने गाँउपालिकाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here